नेकपाका अध्यक्षद्वय बिच छलफल सकारात्मक, भोलि सहमतिका सबै उपाय खोजिने

२१ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय बीच बालुवाटारमा भएको वार्ता भोलि बस्ने गरी सम्पन्न भएको छ ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच करिब दुई घण्टा भएको वार्ता पार्टी एकतालाई मजबुत बनाउन सकारात्मक दिशा उन्मुख भएको बताइएको छ ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंकाअनुसार अध्यक्षद्वयबीच सहमतिको साझा विन्दु पहिल्याउन भएको वार्तामा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को समेत सहभागिता रहेको थियो ।

उनले आजको वार्ता भोलि पुनः छलफल गर्ने गरी सहमति बनेको बताए ।

नेकपाको स्थगित स्थायी समिति बैठक भोलि ११ बजे पुनः बस्दैछ । सो बैठक अघि दुई अध्यक्ष बिच हुने छलफलमा सहमतिका लागि सबै उपायहरु अपनाउने बुझिएको छ ।