नेकपाका अध्यक्ष प्रचण्डसहित तीन शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

२१ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसहित तीन शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।

अध्यक्ष प्रचण्डसँगै झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।

राष्ट्रपतिविरुद्ध प्रचण्ड समूहका नेताहरुले महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको भन्ने खबरहरु सार्वजनिक भएसँगै प्रचण्डसहितका नेताहरु शीतल निवास पुगेको बताइएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद् सदस्यहरुसँगको छलफलका क्रममा राष्ट्रपतिविरुद्ध प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।

यस भेटलाई प्रधानमन्त्री ओलीमाथि दबाब सिर्जना साथै पार्टी एकता कायम गर्न बल पुग्ने रुपमा हेरिएको छ ।