नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेताद्वारा राष्ट्रपतिलाई बिबादमा तान्ने प्रयास नभएको जानकारी

२१ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताले राष्ट्रपतिलाई विवादमा तान्ने कुनै प्रयास नभएको र त्यस्तो सोच्न पनि नसक्ने बताएका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीले प्रधानमन्त्रीबाट हटाउने र राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारी गरिरहेको भन्ने आशंकित अभिव्यक्ति दिएपछि पार्टीका शीर्ष नेताहरुले आइतबार राष्ट्रपति पति विद्यादेवी भण्डारीलाई भेटेर त्यस्तो सोच्न पनि नसक्ने बताएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले आजै शीतलनिवास पुगेर वास्तविकता प्रष्ट पारेका हुन् ।

“यो पार्टीको आन्तरिक अन्तरसंघर्ष हो । पार्टीभित्र यस्ता छलफल र बहसहरु हुन्छन्,” बैठकमा सहभागी एक नेताले भने, “हामी तपाईलाई विवादमा मुछ्ने पक्षमा छैनौँ, यो अफवाह र भ्रम मात्रै हो, यदि राष्ट्रपतिजीमा भ्रम परेको छ भने मुक्त हुनुस् ।”

राष्ट्रपतिले शीर्ष नेताहरुको कुरा सुनिसकेपछि आफूले त्यस्तो नसोचेको बताएको उनले जानकारी दिए ।