१४ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वयलाई ६ बुँदे प्रस्ताव गरेका छन् ।
गौतमले मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री समेत रहेको अर्का अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्ताव गरेका हुन् ।
‘कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने’ प्रस्तावको बुँदा नम्बर १ मा गौतमले भनेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने साथै अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजाना गर्ने उपाध्यक्ष गौतमको प्रस्तावमा उल्लेख गरिएको छ ।
यसैबिच मंगलबार बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका नेकपाका अध्यक्ष ओली साँझ भने परिवारसहित महासचिव विष्णु पौडेललाई लिएर पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका छन् ।
यस भेटलाई पारिवारिक भेटघाट भनिएता पनि पार्टीभित्रको पछिल्लो आन्तरिक विवादका विषय साथै राजनीतिक विषयमा कुराकानी केन्द्रीत रहेको ओलीइतरका नेताहरुको बुझाई देखिन्छ ।














