२ मंसिर ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव विष्णु पौडेलले आज भेटवार्ता गरेका छन् ।
नेकपा सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजेका लागि तय भए पनि बैठकको एजेण्डा बारेमा दुई अध्यक्षबीच मतभेद कायमै रहेकाले टुङ्गो लागेको छैन् । यसैबीच अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले आज अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको जानकारी दिएका छन् ।
उनले छलफलबारे विस्तृतमा जानकारी नगराइए पनि भोलि तय भएको नेकपा सचिवालय बैठकको एजेण्डाबारेमा छलफल भएको बुझिएको बताए ।
गत कार्तिक २८ गते नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई नामै उल्लेख गरेर १९ पृष्ठको लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष ओली निकट नेताहरुले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता गर्न पहल गरिरहेका छन् । उनीहरुले सो प्रतिवेदन फिर्ता नलिइए बैठक प्रभावित हुने संकेत गरेका छन् ।
यद्यपि, कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिवेदन फिर्ता नलिने बरु छलफलबाटै निष्कर्षमा पुग्नुको विकल्प नरहेको बताएको बुझिएको छ ।