नेकपाका बहुमत केन्द्रीय सदस्य एमसीसीकाे विपक्षमा !

१८ माघ ०७६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत केन्द्रीय सदस्य मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) काेे विपक्षमा रहेका छन् ।

बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा समूहगत राय प्रस्तुत गर्ने क्रम सुरु भएसँगसँगै बहुमत केन्द्रीय सदस्य मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) काेे विपक्षमा उभिएका हुन् ।

शुक्रबार ४ वटा समूहका टोली नेताले समूहगत छलफलको निश्कर्ष सुझावसहित बैठकमा पेश गर्दा ३ वटा समूहले एमसीसीको विपक्षमा मत राखे ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार समूह ६, ९ र १३ का टोली नेताले संसदबाट एमसीसी अनुमोदन गर्न नहुने बताएका छन् । समूह २ का टोली नेता कमला राेकाले भने संशोधनसहित एमसीसी पास गर्न सकिने समूहको निष्कर्ष रहेको बताएकी थिइन् ।

बुधबारदेखि सुरुभएकाे केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि १५ समूहमा छलफल भइरहेको छ भने समूहको निष्कर्ष टोली नेताले बैठकमा प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समूहगत छलफलबाट आएका प्रश्न र सुझावकाे जवाफ आइतबारकाे बैठकमा दिनेछन् ।