नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले किन सम्झिए जेठ १ लाई !

“कोरोना महामारीकाविरुद्ध सिङ्गो मानवजाति एकताबद्ध भइरहेको र नेपाल–भारत सीमा विवादका सन्दर्भमा सिङ्गो देश सत्तापक्ष–प्रतिपक्ष नभनेर एक भई अघिबढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनमा रहेका सबै कम्युनिष्टहरुलाई एकताबद्ध गरेर अघि बढ्न सक्नु पर्दछ ।”

मणि थापा, स्थायी कमिटी सदस्य – नेपाल कम्युनिष्ट पार्टी (नेकपा )

काठमाडौं । दशवर्षे जनयुद्ध सँगसँगै लडेका तर शान्ति प्रक्रियामा आएपछि विभिन्न समयमा विभाजित भएका माओवादी घटक अर्थात् जनयुद्धकालीन योद्धाहरु चार वर्ष अघि आजैका दिन नेकपा माओवादी केन्द्र गठन गरेर अगाडि बढ्न सहमत भई हस्ताक्षर गरेका थिए ।

पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको एकीकृत नेकपा माओवादी, राम बहादुर थापा “बादल” नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको पुनर्गठित नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाल, गौरवशाली पार्टी, वामपन्थी एकता मञ्च, स्वतन्त्र रुपमा रहेकी जयपुरी घर्ती मगर लगायतले एकता गरी “नेकपा (माओवादी केन्द्र)” नामक पार्टी घोषणा गरेका थिए ।

नेकपा माओवादी केन्द्र घोषणा हुनु अघि काठमाडौंको माइतीघरस्थित एक कटेजमा फाइनल सहमति पत्रमा हस्ताक्षर गर्दै तत्कालीन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माओवादी नेताहरु ।

कम्युनिष्टका पूराना नेता स्व.कृष्णदास श्रेष्ठको अध्यक्षतामा भएको उक्त पार्टी एकतासँगै तत्कालीन एकीकृत नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवगठित पार्टीको पनि अध्यक्ष चयन भए । पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले “माओवादीका पराजयका दिन सकिएको र विजयको दिन सुरु भएको” बताएका थिए ।

प्रचण्डले ‘अब देशले हार्ने दिनको अन्त्य भएको छ’ साे पार्टी एकता घोषणासभामा उद्घोष गरेको आज ४ वर्ष पुगेको छ । त्यसदिनको स्मरण गर्दै तत्कालीन क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले सामाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन् :

“इतिहासमा माओवादी केन्द्र निर्माण भएको पनि ४ वर्ष भएछ । जनताको ठूलो बलिदानबाट बनेको माओवादी जनयुद्धलाई जनविद्रोहमा बदल्ने भाष्यको खोजीमा अन्तर हुँदा हामीले विद्रोह गर्याैं र नयाँ माओवादी मुभमेन्ट बनाउन कोशिस गर्यौं । संविधानसभाको निर्वाचनमा एउटा माओवादीले बहिस्कार अर्को माओवादीले स्वीकारको राजनीति लियौं । परिणाम के भयो, हामी सबैलाई थाहा छ । पुनः हामीले माओवादी आन्दोलनलाई पुनर्निर्माण गर्ने उदेश्य साथ माओवादी केन्द्र गठन गर्यौं । त्यसको संश्लेषण नहुँदै हामी नेकपा आइपुग्यौँ । आज नेकपामा पूर्व माओवादी जुन हैसियतमा छ । त्यो हैसियतको जग नेकपा (माओवादी केन्द्र) हो । जसमा हामीले गर्व गर्नु पर्दछ । यो घटनाले इतिहासमा हामीलाई अगाडि बढने प्रेरणा दिएको छ ।”

विभाजित माओवादी नेताहरु पार्टी एकतासँगै “नेकपा माओवादी केन्द्र” घोषणा गर्दै

नेपालको राजनीति र सांस्कृतिक अभियानमा जनयुद्धकालमा होस् वा त्यसपछि पनि निरन्तर क्रान्तिकारी निष्ठा र आदर्शलाई पछ्याएका हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले माओवादी केन्द्रको त्यस जगलाई अवमूल्यन गरिनु नहुने पनि बताएका छन् ।

यदि चार वर्ष अघि नेकपा माओवादी केन्द्र गठन नभएको भए आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनेमा आशंका व्यक्त गर्दै नेता थापाले इतिहासको मूल्याङ्कन हुनु पर्नेमा जोड दिएका छन् ।

कोरोना महामारीकाविरुद्ध सिङ्गो मानवजाति एकताबद्ध भइरहेको र नेपाल–भारत सीमा विवादका सन्दर्भमा सिङ्गो देश सत्तापक्ष–प्रतिपक्ष नभनेर एक भई अघिबढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनमा रहेका सबै कम्युनिष्टहरुलाई एकताबद्ध गरेर अघि बढ्न सक्नु पर्ने बताउँदै नेता थापाले यो कम्युनिष्ट आन्दोलन र वर्तमानको आवश्यकता रहेको बताए ।