१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरुभएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य राखेसँगै १२ गते शुक्रबार बस्ने गरी स्थगित गरिएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको ७ बुँदे कार्यसूची रहेको जानकारी दिँदै अध्यक्षद्वयको धारणा, बैठकका एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय दिँदै बैठक पर्सीसम्मका लागि स्थगित भएको बताए ।
बैठकको ७ बुँदे कार्यसूची बारे उनले भने, “(१) वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे मन्तव्य, (२) काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा, (३) नेपालकाे सीमा समस्या र समाधान, (४) सरकारकाे कामकाे समग्र समीक्षा, (५) पार्टी कामकाे समीक्षा र सांगठानिक एकताकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा, (६) एमसीसीका सम्बन्धमा र (७) विविध, (क) रूकुम घटना, (ख) नागरिकता विधेयक र (ग) संघीय संसदका सदस्यहरूकाे भत्ताका सन्दर्भ रहेका छन् ।”
अर्काे बैठक असार १२ गते बिहान ११ बजे पुन: बस्ने प्रवक्ता श्रेष्ठले बताए ।