नेकपाको आधिकारिता दावी निर्वाचन आयोगमा पेश

२० माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले दलको आधिकारिता दावी निर्वाचन आयोगमा पेश गरेको छ ।

मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार दावी पेश गरेको हुन् ।

नेकपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा २७५ जना केन्द्रीय सदस्य उपस्थित रहेका थिए ।

प्रतिनिधि सभा विघटन गरेर नेकपाको नामबाट प्रधानमन्त्री समेत रहेका केपी ओलीले गुटगत भेला तथा कार्यक्रमहरु गर्न थालेपछि नेकपा (प्रचण्ड–माधव समूह)ले ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएर कारवाही गरी दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिता दाबी गरेका हो ।

नेकपाको २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेर ओलीलाई साधरण सदस्यबाट र विष्णु पौडेललाई महासचिव पदबाट हटाइएको प्रचण्ड–माधव समूहको नेकपाले बताएको छ ।