११ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन कारवाही गरेको छ ।
आइतबार बसेको नेकपा (प्रचण्ड–माधव समूह)को स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
यही माघ ३ गते बसेको नेकपाको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए ।
आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई स्पष्टीकरण सोधिएको तर उनले पत्रको जवाफ नदिएपछि केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरी स्थायी समिति बैठकले निस्काशन गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थप गरेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । साथै, अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।