नेकपाको विद्रोही समूहले विप्लवलाई महासचिवबाट हटाए

२१ बैशाख ०७९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको एक भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।

चितवनको पर्सामा बुधबार सुरुभएको विद्रोही समूहको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवको जिम्मेवारीबाट हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्तालाई जिम्मेवारीबाट हटाएको जानकारी दिएका छन् ।

भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी विद्रोही नेताहरुको छ ।

स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएसँगै एकले अर्कालाई कारवाही गर्नेसम्म तहसम्म नेताहरू पुगेका हुन् ।