नेकपाको विवाद संवाद र सहमतिबाटै हल गर्नुपर्ने कार्यकर्ता तथा शुभचिन्तकको जोड

२१ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्वमा देखिएको विवादलाई नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले संवाद र सहमतिबाटै हल गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।

नेकपा सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल ‘पप्पु’ले नेकपा फुटाउन नहुने र आफूहरुले फुटन नदिने बताएका छन् ।

अध्यक्ष मण्डलले भनेका छन्, “म दृढता पूर्वक भन्न चाहन्छु पार्टी फुटदैन, फुटाउन दिँइदैन ।”

नेकपा प्रदेश २, बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठले पार्टीको बैठकमा बिचारहरु फरक फरक आउन सक्ने, मतहरु बाझिन सक्ने भन्दै बैठकभित्र बसेर बहस र छलफलद्वारा एउटा निष्कर्षमा पुग्न जरुरी रहेको बताएका छन् ।

उनले “यो वा त्यो पक्षमा जुलुस, ¥याली गर्न निर्देशन दिने विषय कम्युनिष्ट पार्टीको हकमा गम्भिर वैचारिक बिचलन र संगठानिकरुपमा अराजकताको पराकाष्ठ” भएको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले नेता, कार्यकर्ता सबै मिलेर पार्टी एकतालाई बचाउनु आजको अपरिहार्य आवश्यकता भएको बताएका छन् ।

यसैगरी नेकपाको बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो बैठक उत्साहपूर्ण ढंगले सफल हुनुले पार्टीमा यो अवस्था आएको त होइन भनी प्रश्न उठाएका छन् ।

त्यो बैठकको सफलतापछि एकता विरोधीहरुमा छट्पटी देखिएको भन्दै उनले भनेका छन्, “पार्टीको अधिनस्त व्यक्ति हुनुपर्छ, पार्टीले सरकार चलाउनु पर्छ, संगठन सुदृढ र एकताबद्ध बनाउनुपर्छ, आलोचना आत्मालोचनाको परिपाटी चलाउनुपर्छ, समाजवादी बाटोमा जानुपर्छ, नयाँ विचारको विकास गर्नुपर्छ आदि कुरामा सो पार्टी बैठक दृढ थियो । यही निर्णयनै कसैलाई अभिसाप भएको त होइन ?”

यस्तै नेकपा प्रदेश ४, तनहुँ जिल्ला अध्यक्ष केदार सिग्देलले पार्टी एकतामा जोड दिँदै कमी–कमजोरी भए सच्याउनु पर्ने भन्दै अस्थिरतालाई होइन् स्थायित्वलाई बल पु¥याउन जोड दिएका छन् ।

“अहिले दुई तिहाई नजिकको सरकार छ । एउटै पार्टीको अझ एउटै प्रधानमन्त्रीलाई ५ वर्ष स्थापित गर्न सक्दा नेपालका राजनीतिक शक्तिहरुको योग्यता नयाँ उचाईमा पुग्नेछ,” अध्यक्ष सिग्देलले भनेका छन्, “कमी–कमजोरी भए सच्याउँ, अस्थीरतालाई होइन् स्थायित्वलाई बल पुर्याउँ । जिम्मेवार तह सबैले गम्भीर भएर राजनैतिक व्यव्हार गरौं ।”

यसैगरी तनहुँकै युवा नेता शंकर रानाभाट ‘सनिस’ले नेकपाको वर्तमान विवाद हल गर्ने उपाय सुझाएका छन् ।

उनले आफ्नो सुझावमा भनेका छन्, “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान को उपाए भनेको ५ वर्ष नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने, कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने, ओलीले पार्टीमा हस्तक्षेप नगर्ने । सरकार सञ्चालन गर्न कार्यदल गठन गर्ने । कार्यदलको निर्देशनमा सरकार चलाउने, कार्यदल संयोजक माधव नेपाल, सदस्य वामदेव गौतम र झलनाथ खनाललाई राख्ने । सरकार पार्टीको विधान र घोषणा पत्रअनुसार चल्ने लिखित प्रतिबद्धता ओलीले जनाउनु पर्ने साथै पार्टीको महाधिवेशन मिति तोक्ने । आगामी महाधिवेशनमा जान कुनै पनि किसिमका शर्त नराख्ने ।”

यसैगरी प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ५ का इन्चार्ज शंकर पोखरेलले पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता भएको बताएका छन् ।

“पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो,” इन्चार्ज पोखरेलले भने, “हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो, त्यसको रक्षा गर्नु दुबै अध्यक्षको कर्तव्य हो ।”

यस्तै नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् ।

उनले भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन र फुटाउन दिइँदैन, कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन् ।”

नेकपाका आम नेता कार्यकर्ताको काँधमा पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्ने गम्भीर जिम्मेवारी आएको उनको बुझाई छ ।

यस्तै नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य भिम रावलले पार्टीको विधि विधानलाई सबैले मान्नु पर्ने भन्दै पार्टी विभाजन हुन नहुनेमा जाेड देखिएकाा छन् ।

त्यसैगरी नेकपा निकट पत्रकार दुर्गा भण्डारीले पनि एकतामा जोड दिँदै पार्टीहरु नीति प्रधान हुनुपर्ने भन्दै दम्भ र अहंकार सबैले त्याग्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्, “पार्टी नीतिप्रधान बनाऊ, दम्भ र अहंकार सबैले त्याग, सरकार पाँचवर्ष चलाऊ, पदका लागि हस्तिनापुर नबनाऊ ।”

यस्तै नेकपाभित्रको कचिलोलाई नजिकबाट हेरिरहेका अर्का पत्रकार सुनिल दाहालले मुलुक बनाउने हो भने पच्चीस वर्षका लागि एउटा राष्ट्रवादी तानाशाहको हातमा देशको शासन सत्ता पुग्नु पर्ने बताएका छन् ।

त्यस्तै पूर्वसिंचाई मन्त्री उमेश यादवले पार्टी एकतामा जोड दिँदै पार्टी कमिटीमा बस्ने र निर्णयलाई आत्मसात गरेर जानुपर्ने बताएका छन् ।

“सडक प्रदर्शन समस्याको समाधान होइन्, पार्टी कमिटीमा बस्ने र हुने निर्णयलाई आत्मसात गरेर जाने” यादवले भनेका छन्, “कुनै बेला मरिचमान सिंहले मण्डले अहंकारको प्रदर्शन गरेका थिए । नत मरिचमानको कुर्सी जोगियो नत पन्चायती व्यवस्था ।”

नेकपाको स्थायी कमिटी बैठक सुरुभएसँगै पार्टीका शीर्ष नेतृत्वबीचको टकरावले पार्टी विभाजनतर्फ उन्मुख भएपछि नेता, कार्यकर्ता साथै शुभचिन्तकहरुले पार्टी विभाजन हुन नहुने मत विभिन्न माध्यमबाट राखिरहेका छन् ।

नेकपाको स्थायी कमिटी बैठक असार १० गते सुरुभएको थियो । बैठकमा नयाँ एजेण्डा प्रवेश भएसँगै बैठक कहिले र कसरी टुङ्गिन्छ भन्ने अनिश्चित जस्तै बनेको छ ।