नेकपाको साङ्गठनिक एकता टुङ्गो लगाउन गठित कार्यदल भङ्ग

१० फागुन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले साङ्गठनिक एकता टुङ्गो लगाउन गठित कार्यदल भङ्ग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले साङ्गठनिक एकता टुङ्गो लगाउन गठित कार्यदल भङ्ग गरेको हो ।

बिहीबार सचिवालय बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले पेश गरेको प्रतिवेदनमा कार्यदलको म्याद एक हप्ता थप गर्न माग गरिएको भए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले तल्ला कमिटी र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदल विघटन गरी सचिवालयबाटै प्रस्ताव तयार पार्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार शुक्रबारको सचिवालय बैठकले एकताबारे निर्णय गरेको हो । कार्यदल भङ्ग भएसँगै शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य रहेका थिए ।

गत जेठ ३ गते पार्टी एकता भएपछि तल्लो तहका पार्टी कमिटी र जनवर्गीय संगठनको एकीकरण टुंगो नलाग्दा पुसमा बसेको स्थायी समितिको बैठकले एकताका लागि कार्यदल गठन गरेको थियो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भएको छ । तर, जिल्ला कमिटीसँगै जनवर्गीय सङ्गठनहरूको एकता हुनसकेको छैन् ।

तपाइको मत