२६ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ ।
कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरेर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका एजेण्डा तयार गरेसँगै नेकपाको स्थगित स्थायी कमिटी बैठक आज बस्ने भएको हो ।
अध्यक्षद्वयले तयार पारेको एजेण्डा अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई पठाइएको र सो एजेण्डामाथि सुझावसहित आफ्नो मत राख्न भनिएकाले बैठक सोही विषयमा केन्द्रीत हुने नेकपाका एक स्थायी समिति सदस्यले बताए ।
उनले स्थायी कमिटीका सदस्यहरुलाई पठाएको एजेण्डामा पार्टी एकतालाई आत्मसात् गर्ने, पार्टी विधि पद्दति चल्ने साथै संस्थागत प्रणालीलाई मजबुत बनाउने, अध्यक्षद्वयको कार्यविभाजन साथै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सीमा विवाद समाधान लगायतका विषय समेटिएको बताए । यस्तै, एजेण्डामाथि नेता माधव नेपाल पूर्णतः सन्तुष्ट नरहेको बुझिएको भन्दै उनले नेपाल कसरी प्रस्तुत हुन्छ भन्ने कुरा बैठकमै गएपछि थाहा हुने जानकारी पनि दिए ।