नेकपाको स्थायी समिति बैठक बस्यो, अर्को बैठक सुचारू गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई

१३ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक सुचार गर्ने जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले आज बस्ने स्थायी समिति बैठक स्थगित भएको सुचना जारी गरेपछि बसेको स्थायी समितिले पार्टी एकताको विधि र परम्परालाई ध्यानमा राखेर बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई आज बसेको स्थायी समिति बैठक यस अघि बसेको बैठकको निरन्तरता भएको बताए ।

उनले भने, ‘यस विषय परिस्थितिमा पार्टीको एकता विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।’

यस्तै ‘जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि विपरीत स्थगित भएको सूचना जारी गर्नु उचित थिएन’ उनले भने ।

यसैगरी बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि पद्धतिसम्मत अगाडि बढाउन र पार्टीको वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु-याउन नेता कार्यकर्तालाई आह्वान पनि गरेको उनले जानकारी दिए ।

आजको स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष प्रचण्ड र झलनाथ खनालले अर्का अध्यक्ष ओलीलाई भेटेर बैठक सुचार गर्न आग्रह गरेको भन्दै प्रवक्ता श्रेष्ठले उक्त आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेको बताए ।

उनले आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य उपस्थित रहेको बताए । हाल नेकपाको स्थायी कमिटीमा ४४ जना सदस्य छन् ।