नेकपामा पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदै !

प्रधानमन्त्री ओलीको विभिन्न निर्णय प्रक्रियामा नेकपाका उपाध्यक्ष गौतमको साथ नरहेको प्रष्टोक्ति

४ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विभिन्न निर्णय प्रक्रियामा आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् ।

गौतमका स्वकीय सचिवालयबाट बिहीबार जारी गरिएको ३ बुँदे प्रेस नोटमा गौगमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झैता (कम्प्याक्ट) सहित पार्टीको विभिन्न निर्णय प्रक्रियामा प्रधानमन्त्रीको साथमा नरहेको प्रष्ट पारेका हुन् ।

सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, “एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ ।”

केही कुरा स्पष्ट पारिएको छ, भनी जारी ३ बुँदे प्रेस नोट :

१. क. वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार हो । सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस् । (संसोधित नक्सा जारी गर्ने एजेण्डा नै उहाँको थियो । हामीले यसअघि नै प्रेस नोटबाट यो कुराको जानकारी दियौं ।)

२. क. केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । क. वामदेवलाई पनि त्यहीँ भेटिदैछ ।

३. उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।