नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

२४ भदौ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक हुने अपेक्षा गरेका छौं । यसले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं । भेटका क्रममा विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ ।’

भेटमा अध्यक्ष प्रचण्डले विदेशमन्त्री वाङको यो भ्रमण सय वर्षको नेपाल चीन बीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । उनले भने – ‘एक चीन नीतिप्रति हामी मुखले होइन कामले देखाउने छौं ।’ अध्यक्षले छोटो समयमा आधुनिक चीन निर्माण गरेकोमा चिनियाँ कम्यनिष्ट पार्टी र राष्ट्रपति सिलाई बधाई दिन चाहान्छु । यो सन्देश महामहिम राष्ट्रपतिलाई सुनाइ दिनुहोला ।’

भेटका क्रममा विदेशमन्त्री वाङ यीले चीन नेपालको सधैंको मित्र भएको बताए । उनले भने–‘नेकपाको सरकार बनेपछि यहाँ राजनीतिक स्थिरता कायम भएको छ र यो नै विकासको मूलआधार हो । नेपाली जनताको अपेक्षा पुरा गर्न चीन सरकार सकारात्मक छ ।’

तपाइको मत