नेकपा एमसीसी अनुमोदन गर्ने दिशामा गए नेकपाकै नेता, कार्यकर्ता सडक संघर्षमा निस्कने

नारायण शर्मा – संयोजक, एमसीसी खारेज अभियान

१३ भदौ ०७७, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) अर्थात् एमसीसी खारेज अभियानको बैठकले यसको खारेजी नहुँदासम्म संघर्षलाई सशक्तरुपमा संचालन गरिने निर्णय गरेको छ ।

सत्तारुढ दल नेपाल कमयुष्टि पार्टी (नेकपा)का नेता लीलामणि पोखरेलको प्रमुख आतिथ्यता, माक्र्सवादी चिन्तक स्वनाम साथीको प्रत्यक्ष मार्ग निर्देशन साथै एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माको अध्यक्षता एवम् सञ्चालनमा बुधबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपाको हालै गठित एक कार्यदलले एमसीसीलाई राष्ट्र हितमा स्पस्ट गरी संशोधनसहित परिमार्जन गरेर अनुमोदन गर्न सकिने राय दिएसँगै एमसीसी खारेज अभियानमा संघर्षरत् अभियन्ताहरुको बैठक एमसीसी खारेजी नहुँदासम्म संघर्षलाई सशक्तरुपमा अघि बढाउने निर्णयमा पुगेको हो ।

अभियानका संयोजक शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा सत्तारुढ पार्टीको पछिल्लो कार्यदलको बैठकले एमसीसी अनुमोदन गर्ने भन्ने सुझावले दिएकोमा एमसीसी खारेज अभियान र यसका अभियन्ता साथै सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनसमुदायहरुलाई विस्मित र अचम्मित पारेको उल्लेख गर्दै यसबारे अझ स्पस्टता र दृढताका साथ आगामी दिनमा झन् सशक्तता र व्यापकतामा संघर्ष संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

“यो एमसीसी राष्ट्रहितविरुद्ध रहेको छ, यो नयाँ इष्ट इन्डिया कम्पनी भएकाले एमसीसी अनुदानले देश विकास गर्ने नभएर उपनिवेश बनाउँछ,” अभियानको विज्ञप्तिमा भनिएको छ, “नेकपा यसलाई अनुमोदन गर्ने दिशामा जान लागे नेकपाकै हजारौं नेता तथा कार्यकर्ताहरु सडक संघर्षमा उत्रिएर यसलाई असफल पारिदिनेछ ।”

यस्तै अभियानले एमसीसी अनुमोदनको खतरालाई मध्यनजर गर्दै कोरोना महामारी र बन्दाबन्दीको अवस्थालाइृ मध्यनजर गरी नेकपाका पार्टी कार्यालय र राज्यको प्रशासकीय केन्द्रहरुमा धर्ना दिने लगायतका संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।