७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकरुपमा नेकपाको डिभोर्सको नयाँ कोर्श सुरु गरेका छन् ।
प्रधानमन्त्री ओली समूहले आज बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर पार्टी विभाजनको नयाँ अध्याय सुरु गरेका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै दिउँसो १ बजे बबरमहलमा पार्टी केन्द्रीय समितिको बैठक बोलाएका थिए । सो बैठक सुरु हुनु अगावै ओली समूहले बैठक बसेर पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।
ओली समूहको बैठकले कूल ११९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गर्दै पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप गरिने भएको छ ।
ओलीले मनोनयन गरेका महाधिवेशन आयोजक कमिटीका सदस्यलाई उनले आजै सपथ गराएका छन् ।
प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई बालुवाटारमा बोलाएर भेला गरेका थिए ।
दुई वर्ष सात महिना अघि (२०७५ साल जेठ ३ गते) पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आजदेखि औपचारिक विभाजन भएको छ । तर, पूर्वएमालेका शीर्षस्थ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रचण्ड समूह भने एकै ठाउँमा उभिएका छन् ।
प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश, तानाशाही कदम भएको बताउँदै कानुनी उपचारमा लागेका छन् । एक स्थायी समिति सदस्यले दिएको जानकारी अनुसार ओलीलाई स्थायी समितको बैठकबाट अनुशासनको कारवाही भइसकेको नै छ, आजै र प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने निर्णय पनि केन्द्रीय समिति बैठकले गर्दैछ ।