नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह पक्राउ

१२ चैत्र ०७४, काठमाडौं । नेपालमा अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह  पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले फोरक्स अनलाइन मनी मार्केटमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगीमा सक्रिय दुई जनालाई पक्राउ गरेको हो ।

३२ वर्षीय बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा  पक्राउ परेसँगै नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह सक्रिय रहेको खुल्न आएको छ ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनीहरु ४/५ महिना अघि  नेपालमा प्रवेश गरेर दर्ता समेत नभएको कम्पनीमा लगानी गरी २० देखि ६० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गरेको बताए । उनले भने-‘पीडितलाई जति लगानी गर्‍यो त्यति धेरै नाफा हुने भन्दै ठगी गरेको पाइएको छ ।’ कारोबार गर्ने व्यक्तिलाई कुनै प्रमाणसम्म पनि दिइएको छैन ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुबाट  २५ जना ठगिएकाले थप अनुसन्धान भइरहेको बताउँछ ।

 

तपाइको मत