नेता, कार्यकर्ता र कर्मचारीको सम्पति छानबिन गर्न सांसद लिङदेनको माग

५ जेठ ०७७, काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङदेनले राजनीतिक दलका नेता, कार्यकर्ता र कर्मचारीहरुको सम्पति छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिभिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद लिङदेनले भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने सरकारको व्यवहारमा त्यस्तो नभएको बताएका हुन् ।

सांसद लिङदेनले भ्रष्टाचार छानबिन गर्ने हो भने २०४६ साल पछिका राजनीतिक दलका नेता तथा कार्यकर्ता साथै कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरे ।

सरकारले नीति था कार्यक्रममा नीरस सपना मात्रै बाँडेको टिप्पणी गर्दै उनले कोरोना भाइरसको संक्रमणबाट आउने सम्भावित चुनौतीबारे सरकार स्पष्ट नरहेको बताए ।

“सरकारले परीक्षण र उपचार विधिलाई व्यापक बनाओस् भन्ने आग्रह गर्दछु” उनले भने, “देशबाहिर मजदुरीको सिलसिलामा रहेका मजदुरहरुले उद्दारको याचना गरिरहेका छन् उनीहरुको व्यवस्थित उद्दारको लागि सरकारले ठोस् कदम चालोस् ।”

उनले कर्मचारी तथा मजदुरहरुले सरकार आफैँले तोकेको न्यूनतम ज्याला दिलाउन समेत नसकेको भन्दै सरकारको आलोचना गरे ।