नेतृत्वले सुझबुझपूर्ण निर्णय र नेतृत्व लिन नसक्दा प्रतिगमन भयो – जयपुरी घर्ती

१९ चैत्र ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीले ठिक ढंगले नेतृत्व लिन र सही विचार दिन नसकेको अवस्थामा पार्टी, संगठन दुर्घटनामा पर्ने बताएकी छन् ।

बुधबार अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय समितिको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्नेक्रममा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य समेत रहेकी इन्चार्ज घर्तीले यस्तो बताएकी हुन् ।

“तीन वर्ष पार्टी, संगठन एकता भन्दाभन्दै बित्यो, एकता गर्दा नेतृत्वले सुझबुझपूर्ण निर्णय र नेतृत्व लिन नसक्दा विचार ठिक हुँदाहैदै पनि प्रतिगमन भयो,” उनले भनिन्, “अर्काको खुट्टामा उभिदा पार्टी, संगठन दुर्घटना हुनु स्वभाविक थियो र भयो ।”

उनले अप्ठ्यारो परिस्थिति र आन्दोलनका अग्रमोर्चामा लड्नु पर्दा श्रमजीवी मजदुरहरूलाई सम्झने सहज अवस्थामा कर्नरमा पार्ने काम पार्टीबाट भइरहेको भन्दै पार्टीको नीति निर्माणको तहमा मजदुरको समानुपातिकताका आधारमा सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

सर्वोच्च अदालतको फैसलापछि संसद पुनर्स्थापना भएपछि आन्दोलनमा रहेका दलहरु मिलेर सरकार बनाउनु पर्नेमा काँग्रेस र जनता समाजवादी पार्टीको अकर्मण्यताले देश डेटलकको स्थितिमा गएको भन्दै नेतृ घर्तीले प्रतिनिधिसभा विघटनमा कतै न कतै ती दलका नेताहरुको समर्थनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेको हो कि भन्ने विकसित घटनाक्रमले देखाएको समेत बताइन् ।

यस्तै देशी विदेशी शक्तिहरु नेपालमा कम्युनिष्टहरुलाई टुक्राटुक्रा पारेर विभाजन साथै ध्वस्त गर्न लागिरहेको तर अहिले पनि पार्टीभित्र विभिन्न गुट उपगुट बनाएर नेताहरुले दरिद्रता र साँगुरो सोच प्रहसन गरिरहेको उनले बताइन् ।