२८ चैत्र ०७४, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको चालु आर्थिक वर्ष २०७४/०७५ को आर्थिक वृद्धिदर ४.९ मा सीमित हुने अनुमान गरेको छ ।
गत २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन गरेको एडीबीले यसलाई संशोधन गरेर अहिले ४.९ प्रतिशत पुर्याएको हो ।
एडीबीले सरकारले तोकेको लक्ष्यभन्दा कम वृद्धिदर मात्र हासिल हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत भने ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो ।
एडीबीले आर्थिक वर्ष २०७५/०७६ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत आयातमा कमी आउने एडीबीको आँकलन छ । तर, स्थानीय सरकार प्रदेश सरकारहरु खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको आँकलन छ ।
चालु आर्थिक वर्षमा मुद्रास्फ्रिति बढेर ५.५ प्रतिशत पुग्ने एडीबीले बताएको छ । गत वर्ष यस्तो मुद्रास्फ्रिति ४.५ प्रतिशत रहेको थियो । यो वर्ष नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतीलाई ७ प्रतिशत भन्दा कम राख्ने लक्ष्य राखेको छ ।













