नेपालको झण्डा जलाउँदै, विभिन्न समुदायलाई गालीगलौज गर्ने नौ जना पक्राउ

४ भदौ ०७७, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाउँदै विभिन्न जाति तथा समुदायलाई गालीगलौज गर्दै म्युजिक बनाउने समूहका नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

सोमबार (भदौ १ गते) मंगोल हब नामको युट्युव च्यानलबाट नेपाली झण्डा जलाउँदै विभिन्न जाति तथा समुदायलाई गालीगलौज गरिएको म्युजिक भिडियो अपलोड भएपछि बुधबारसम्म उक्त समूहका नौ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पर्नेहरुविरुद्ध थप अनुसन्धान गरी कानूनअनुसार कारबाही गरिने साथै र पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाएको जानकारी दिएको छ ।

नेपालको राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोही’ शीर्षकको म्युजिक भिडियोमा विभिन्न समुदायमाथि माथि घृणा उत्पन्न हुने शब्दहरु प्रयोग गरिएका छन् ।

प्रहरीले उक्त म्युजिक भिडियो प्रकरणमा संलग्न सबैको खोजी भइरहेको बताएको छ ।

उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको भन्ने बुझिएको छ ।