३ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ बाट एक महिलाको मृत्यु भएको र यो पहिलो घटना भएको जानकारी दिएको छ ।
मन्त्रालयले शनिबार बेलुकी ८ः५० बजे प्रेस विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोभिड–१९ बाट मृत्यु भएको सार्वजनिक गरेको हो ।
“बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको; उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षण पश्चात् नेपालमा कोभिड – १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।”
मन्त्रालयको अध्यावधिक विवरणअनुसार कोभिड–१९ थप दुई जनामा पुष्टि भएसँगै सक्रमितको संख्या २८१ पुगेको छ ।
नयाँ संक्रमित धनुषा निवासी २०, ६५ वर्षीय पुरुषहरू रहेको मन्त्रालयले जनाएको छ ।