२७ साउन ०७७, काठमाडौं । नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप चार जना कोरोना संक्रमितको निधन भएको पुष्टि गर्दै मृत्यु हुने संख्या ८३ पुगेको बताएका हुन् ।
उनले धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय एक पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको बताए ।
यस्तै क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. ५ निवासी वर्ष ५० का एक पुरुषको साउन २५ गते निधन पनि बताए ।
यसैगरी काभ्रे जिल्ला पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षीया एक महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज ललितपुरमा र सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ बस्ने वर्ष ८४ का एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।
उनले बिरामीहरुको बिबरण प्रस्तुत गर्दै होम आइसोलेसनमा बस्नेहरुको संख्या २२४ रहेको बताए ।
यस्तै आइसीयुमा रहेका केसहरुको संख्या ८५ रहेको र यसमध्ये भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको उनले जानकारी दिए ।













