नेपालमै पहिलो पटक नोेबेलले राख्यो ९५ बर्षीय बृद्धमा पेसमेकर

१९ कार्तिक ०७५, विराटनगर । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ ।

मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

पेसमेकर राखेपछि वृद्ध ।

पेसमेकर राख्नु सामान्य प्रकृया भएपनि यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपाले बताए । डा. नेपालका अनुसार नेपालमा ९५ वर्षीय बृद्ध अवस्थामा पेसमेकर राखिएको यो पहिलो रेकर्ड भएको हो ।

यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोसन राउतले ९० बर्ष हाराहारीका कतिपय बृद्धबृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको छ भन्ने यकिन नभएको बताए ।

बयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिव ६० देखि १०० पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुँनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ ।

यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा बिद्युतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउन सहयोग गर्छ ।
जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० बर्ष उमेरका ब्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको पाईन्छ ।
मुटुरोगको उपचार गर्दै आएका राजधानीका केही अस्पतालमा ९० बर्ष हाराहारीका बृद्धबृद्धालाई पेसमेकर राखिएको विरलै मात्र भेटिएको छ । तर, नोबेलले ९५ बर्षका बृद्धलाई सफलतापूर्वक पेसमेकर राखेर निको बनाएको हो ।

नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी भएका बिरामीहरुलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी विश्वकै दुर्लभ र जटिल रोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको छ ।

तपाइको मत