नेपाली जनताको यो सुदृढ राष्ट्रिय एकतालाई राम्रोसँग मनन् गरियोस् – सांसद भुसाल

३१ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले प्रतिनिधि सभा बैठकमा देखिएको तागत र बलबाट सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउनु पर्ने बताएकी छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको दफावार छलफलमाथि भाग लिँदै सांसद भुसालले यस्तो बताएकी हुन् ।

राष्ट्रियताको सवालमा सबै दलको एकै स्वर हुनु गर्व र खुशीको कुरा भएको भन्दै उनले भनिन्, “ऐतिहासिक तथ्य प्रमाणले त्यो भूभाग शतप्रतिशत हाम्रो हो । वार्ता र सम्बादबाट जमिन फिर्ता ल्याउने ऐतिहासिक प्रक्रियालाई अगाडि बढाओस् ।”

संघीय संसद पूरै जनमतको केन्द्रीत अभिव्यक्ति भएको बताउँदै सांसद भुसालले सदनमा देखिएको सर्वसम्मतिको तागत र बलबाट हाम्रो जमिन उपभोगमा ल्याउन सरकार लाग्नु पर्ने सुझाएकी हुन् ।

यस्तै कोभिड–१९ ले खुला सीमा हुनु हुँदैन् भन्ने पाठ सिकाएको भन्दै उनले निश्चित नाकालाई राखेर नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने समेत बताएकी छन् ।

भारतले नेपालसँग वार्ता गर्नका लागि कुनै प्रकारको बाहना नखोजोस् भन्दै उनले भनिन्, “नेपाली जनताको यो सुदृढ राष्ट्रिय एकतालाई राम्रोसँग मनन् गरियोस् ।”

“६ सय स्क्वार फिट भन्दा बढी जमिन, २०११÷१२ सालको पाठ्यपुस्तकमा भएको २०३०÷३२ सालमा गएर हराएको, नक्सामा पनि हराएको तर जमिनलाई सरकारले प्रस्ताव गरेर, संविधान संशोधन गरेर नेपालको नक्सा परिवर्तन गरेर संविधानको अनुसूचीमै राख्ने गरेर जुन संशोधन प्रस्ताव ल्याएको छ । अब हामी पारित गर्दैछौं,” सांसद भुसालले भनिन्, “आम नेपाली जनताको खुसीको कुरा हो । म पनि खुसी व्यक्त गर्न चाहन्छु ।”

सांसद भुसालले राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको लागि गरिएको लामो आन्दोलनका बीच संविधान संशोधनको ऐतिहासिक अवसरमा उपस्थित हुँदा आफूलाई गर्व लागेको समेत बताएकी थिइन् ।