२८ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संवैधानिक निकायले गलत गर्दा देशले दुःख पाउने बताएका हुन् ।
निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि ३० दिने हदम्यादको काइते तर्क गरेको भन्दै उनले नेपाली जनतालाई हेप्ने गल्ती कसैले गर्न नहुनेमा जोड दिएका थिए ।
“सत्तरी प्रतिशत हामीसँग छ” भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताउँदै प्रचण्डले भने, “त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने बित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईंको खुट्टी देखिनेछ ।”
“सजिलो नठान्नुहोला,” चेतावनीको भाषामा आयोगलाई उनले भने, “नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ, निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।”
यस्तै अध्यक्ष प्रचण्डले केपी ओली समूहमा रहेका दुई जना मन्त्रीसमेत नेताहरु आफूहरुतिर आउन लागेको बताउँदै ओलीलाई छोड्ने मान्छेको लाम लागेको बताए ।
हालै ओली पशुपतिनाथ गएको प्रसंग कोट्याउँदै प्रचण्डले भने, “तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, तर, हाम्रो भगवान नेपाली जनता हो ।” हामी तपाईं (जनता)को शरणमा छौं ।”
उनले ओली समूहको २३ माघको कार्यक्रममा केही हजार मान्छे मात्रै आएको तर आजको विरोध प्रदर्शनमा ५ लाख सहभागी भएको सूचना आफूलाई प्राप्त भएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?”
उनले बुधबारको उपस्थितिले अदालतलाई सहज संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा फैसला गर्न भएको पनि बताए ।