१६ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रकी सांसद दुलारी हरिजनले आइतवारको व्यवस्थापिका संसद बैठकको शून्य समयमा बोल्दै हिन्दी भाषालाई पनि राष्ट्रभाषा बनाउनु पर्ने भनी चलिरहेको बहसप्रति आपत्ति जनाएकी छिन् ।
‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्छ भनेर संसदमा सांसदहरुले कुरा उठाउनुभएको छ, त्यसो भए नेपाली भाषालाई भारतको राष्ट्रभाषा बनाउन पहल किन नगर्ने ?’ भन्दै सांसद हरिजनले दशैंका बेला भारतबाट नेपाल आउने नेपालीहरु सिमानामा लुटिने क्रम बढेकाले सुरक्षा व्यवस्था मिलाउन समेत माग गरिन् ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको हित बिरोधी प्रस्तावमा हस्ताक्षर गराउन कांग्रेसको भूमिका रहेको भन्दै राष्ट्रघातको आरोपबाट कांग्रेस मुक्त नहुने बताए ।
संसद बैठक हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग
नेपाली कांग्रेसका सांसद देवनारायण कलवारले गत शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरेका थिए ।
कांग्रेसका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले हिन्दीलाई राष्ट्रिय भाषा बनाउन लबिङ गरिरहेका बेला कलवारले हिन्दी भाषाको विषय संसदमै उठाएका हुन् ।
सांसद कलवारले प्रमुख प्रतिपक्षी एमालेतर्फ संकेत गर्दै अन्धो राष्ट्रवादले देशलाई पछाडी धकेलेको भन्दै नेपालमा मेचीदेखि महाकालीसम्म, हिमालदेखि पहाड र तराईसम्म ५० प्रतिशत जनताले हिन्दी भाषा बोल्छन् र ८० प्रतिशत जनताले बुझ्छन् भन्दै प्रधानमन्त्रीमार्फत नेपाल सरकारलाई ‘हिन्दी भाषा’ राष्ट्रिय भाषा हुनुपर्ने बताए ।
यसअघि कांग्रेसकै सांसद रामहरि खतिवडाले कुनै हालतमा हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका थिए ।
ट्विटरमार्फत् हिन्दी भाषालाई राष्ट्रभाषा घोषित गर्न माग
नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरिले ट्विटर मार्फत् राष्ट्रिय एकताको लागि धेाती कुर्त्तालार्इ राष्ट्रिय पोशाक र हिन्दी भाषालाई राष्ट्रभाषा घोषित गर्न माग गरेपछि उनको ट्विटको आलोचना भएसँगै गिरिले नेपाली र हिन्दी राष्ट्रिय भाषा र धोती-कुर्ता र दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउनु पर्छ भनेर सच्चाएकी छिन् ।