१० माघ, कलैया ।
इण्डिया सरकारले माघ ११ गतेदेखि रक्सौल लगायत अन्य नाकाबाट इण्डिया प्रवेश गर्ने नेपाली सवारी साधनले प्रवेश पास लिनुपर्ने प्रावधान लागू गर्दैछ । नेपाल–इण्डियाको सीमा क्षेत्रमा रहेका सम्पूर्ण नाकासहित छोटी नाकाहरुमा पनि प्रवेश पास प्रावधान शुरु गर्न लागिएको इण्डियन सीमा शुल्क कार्यालय रक्सौलका डिपुटी कमिसार अखिलेश कुमारले बताएका छन् । यो निर्णयसँगै नेपाली सवारी साधनलाई इण्डिया र सीमा क्षेत्रको आसपासमा आवतजावत गर्न अब कठिनाई हुने भएको छ ।
मोटर साइकलदेखि हेभी सवारी साधनहरु समेतले इन्ट्री पास नलिई प्रवेश गरेको खण्डमा सवारी साधन जफत तथा ठूलो जरीवाना हुने अखिलेश कुमारले जानकारी दिए । इन्ट्री पास ३ किलोमिटर दायरामा मात्र सीमित हुने र सीमा क्षेत्रबाट ३ किलोमिटर भन्दा बढी भित्र जाने नेपाली सवारी साधन जफत गरिने इण्डियन सीमा शुल्क कार्यालयले जनाएको छ ।
इण्डियन सीमा शुल्क कार्यालय रक्सौलका डिपुटी कमिसार अखिलेश कुमारका अनुसार इन्ट्री पासको म्याद १ दिनको मात्रै रहने र १ दिन भन्दा बढी ३ किलो आसपासको क्षेत्रमा बस्नु पर्ने भए भारतिय बाणिज्य दुतवासबाट अनुमति लिनु पर्नेछ ।
सोमबारदेखि इण्डिया भित्रिने नेपाली सवारी साधनलाई अनिवार्य रुपमा इन्ट्री पास लिए नलिएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि इण्डियन कष्टम, एसएसबी, बिहार प्रहरीलाई खाटाइएको अखिलेश कुमारले बताए ।