१९ असोज ०७७, दार्चुला । नेपाली सेनाले दार्चुला सदरमुकामसँग व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँ जोड्ने घोडेटो बाटो सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सोमबार दार्चुला सदरमुकाम खलंगासँग जोड्ने छाङरु र तिङ्करस्थित घोडेटो बाटो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन ।
नेपाली सेनाले करिब चार महिनाको प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगरस्थित कडा चट्टान फोरेर घोडेको बाटो निर्माण गरेको थियो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले एक करोड आठ लाख खर्च गरेर सेनाले चट्टानको पहाड फोरर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको बताए ।
घोडेटो बाटो हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा साथै प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।