नेपाली सेनाले आर्थिक अनियमितता गर्नेलाई कारवाही र अनुसन्धान गर्दै

११ जेठ ०७७, काठमाडौं । नेपाली सेनाले भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा संगठनभित्रका अधिकृत लगायतलाई कारवाही र अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र हुने भ्रष्टाचार कार्यान्वयनमा कडाइ गरेपछि उच्चतहका अधिकृत लयागत कारवाहीमा परेका हुन् ।

सेनाको समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठह¥याइ कारवाही गरेको छ ।

सैनिक अदालतले उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै रु एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट रु चार लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको ३ लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ । साथै, हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठह¥याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे हो ।

यसैगरी सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।

सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झङ्कर कडायत र आनन्द अधिकारीको अध्यक्षतामा बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी भ्रष्टाचार र अनियमितताको आरोप लागेकामाथि अनुसन्धान र छानविन गरिरहेको छ ।