२४ चैत ०७६, काठमाडौं । नेपाली सेनाले सरकार–सरकार (जि टू जी) विधिबाट कोभिड-१९ रोकथाम र नियन्त्रणको लागि आवश्यक उपकरण र औषधि खरिद गर्न आफ्नो संस्थालाई सरकारले जिम्मेवारी दिएको बताएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्स गरी यस्तो बताएका हुन् ।
नेपाल सरकारले चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जि टू जी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारी प्रचलित कानून बमोजिम र गुणस्तरमा सम्झौता नहुने जानकारी दिए ।