नेपाली सेना जुनसुकै बेला स्वतः परिचालन हुने

वेव तस्बिर

वेव तस्बिर

२३ फागुन, काठमाडौं ।
प्रत्येक वर्ष सेना दिवसको अवसरमा गरिदै आएको पृतनापति समन्वयात्मक बैठक यस वर्ष “सेना दिवस २०७२” को अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको छ । पिएओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित पृतनापति समन्वयात्मक बैठकले नेपाली सेनाले देश बचाउन जुनसुकै बेला स्वतः परिचालन हुने निर्णय गरेको छ ।
बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा देश टुक्रिने अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै त्यो बेला तुरुन्तै एक्सन लिने निर्णय भएको जनाएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु सिर्जना भए नेपाल सरकारको निर्देशानुसार नेपाली सेना स्वतः परिचालन हुने बताए ।
 समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी श्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको एवम् भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरुमा नेपाल सरकारले पूनः निर्माणको लागि जिम्मेवारी दिएमा यथासिघ्र कार्य गर्न तयार रहने निष्कर्ष समेत निकालेको छ ।

उक्त सम्मेलनमा रक्षा सचिव जयमुकुन्द खनाल, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

तपाइको मत