नेपाल नर्सिङ संघ र सरकारी वार्ता टोलीबीच सहमत, आन्दोलन स्थगित

४ माघ ०७४, काठमाडौं । नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ।

बिहीबार पेशागत सुरक्षा एवं ११ बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको हो । संघका पदाधिकारीहरु नौ दिनदेखि आन्दोलित थिए ।

संघले अघि सारेका सबै मागहरु कार्यान्वयनका लागि शीघ्र पहल गरिने स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका संयोजक डा. विनोद मान श्रेष्ठले बताए ।  सहमति भएका सबै बुँदा बारे मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई जानकारी गराएर कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले आफूहरुले अघि सारेको सबै माग पुरा गर्न मन्त्रालय सहमत भएको बताइन् । उनका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्स त्रजिना जतिलाई २४ घन्टाभित्र पुनर्बहाली  गर्न र बाँकी माग एक महिनाभित्र पुरा गर्न सरकार सहमत भएको  बताइन् ।

उनले भनिन, ‘मागहरु कार्यान्वयन गर्न सहमति भएको छ। तर एक महिना भित्र कार्यान्वयन नभए फेरि आन्दोलन गर्न बाध्य हुन्छौं।’ ११ बुँदे सहमतिपत्रमा मन्त्रालयको वार्ता टोलीका संयोजक डा. श्रेष्ठ र नर्सिङ संघको वार्ता टोलीको तर्फबाट कार्यवाहक अध्यक्ष थापाले हस्ताक्षर गरेका छन् ।

तपाइको मत