४ भदौ ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
‘व्यवसायिक पत्रकारिताको आधार: प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो ।महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन थालेका छन् । महाधिवेशन ४ गतेदेखि ६ गतेसम्म चल्नेछ ।
करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचना अनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमाले निकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ ।