नेपाल–भारत सीमा नाका बन्द

१९ मंसिर ०७४, विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि सीमा नाका बन्द गरिएको हो ।

यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए ।

यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै इलामका भारतसँग सीमा जोडिएका नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको बताए ।

यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको जानकारी दिए ।

तपाइको मत