२ माघ ०७६, रौतहट । नेपाल र भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रको अतिक्रमण गरी बनाइएका घरटहराहरू हटाएको छ ।
दुई देशको सुरक्षाकर्मीको पहलमा दशगजा क्षेत्रमा बनाइएका घरगोठ, टहरा, पसल लगायतका भौतिक संरचनाहरू हटाएको हो ।
रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितकाअनुसार दशगजाबाट हटाइएका अतिक्रमण मध्ये २९ स्थानमा भारतीय नागरिकले र ५ स्थानमा नेपाली स्थानीयले घर टहरा बनाएका थिए ।
भारतीय नागरिकले रौतहटको ईशनाथ नगरपालिका–२ स्थित पीलर संख्या ३४८–१ (मझौला) र वडा नम्बर ४ मठिया स्थित ३४८–२ (मझौला) पीलरको बीचमा भारततर्फ बिद्युत प्रयोग गर्नका लागि दशगजामा गाडेको बिद्युतका पोलहरु समेत सशस्त्र प्रहरीले हटाउन लगाएको छ ।
दशगजा क्षेत्र अतिक्रमण गर्ने अधिकांश भारतीय नागरिक रहेको भन्दै सशस्त्र प्रहरीले अतिक्रमित क्षेत्रका संरचना हटाई सीमा स्तभ्महरुको अवस्था, तथ्याङ्क र जीपीएस सङ्कलन समेत गरेको जनाएको छ ।