नेपाल भ्रमण वर्ष २०२० औपचारिकरुपमै स्थगित

१८ चैत ०७६, काठमाडौं । सरकारले अप्रिलसम्म स्थगन गरेको नेपाल भ्रमण वर्ष २०२० औपचारिकरुपमै स्थगित भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट सुरुभएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलन सुरुगरेसँगै सरकारले अप्रिलसम्म स्थगित गरेको भ्रमण वर्ष औपचारिकरुपमै स्थगन भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दिएको जानकारीअनुसार नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित गरिएको हो ।

उद्यमी सुरज वैद्यले नेतृत्व गरिरहेको यसको सचिवालय पनि २०७७ बैशाख १ गतेदेखि विघटन हुने भएको छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यले सन् २०२० मा भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, कोभिड १९ को संक्रमण विश्वव्यापीरुपमा महामारी बनेर फैलिएपछि सरकार भ्रमण वर्ष स्थगित गर्ने निर्णयमा पुगेको हो ।

नेपाल सरकारले सन् २०२० जनवरी १ मा भव्य कार्यक्रम गरी भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको थियो । यसअघि नेपालले सन् १९९८ र सन् २०११ लाई भ्रमण वर्षरुपमा मनाइसकेको छ ।