नेपाल र चीन रेलमार्ग सम्भव छ: चिनियाँ टोली

२४ कार्तिक ०७४, काठमाडौं । नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष दिएको छ ।

काठमाडौं-पोखरा, केरुङ-काठमाडौं र काठमाडौं-लुम्बिनी रेलमार्ग प्राविधिक रुपमा सम्भव रहेको प्रारम्भिक रिपोर्ट उक्त टोलीले दिएको हो ।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोली सम्भाव्यता अध्ययन गरेर शुक्रबार बेइजिङ फर्केको छ । उक्त टोलीले आफ्नो रिपोर्ट चीन सरकारलाई पेश गर्नेछ ।

रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त शर्माका अनुसार रेलमार्ग निर्माणका लागि नेपाल सरकारले औपचारिक रुपमा आग्रह  गरेपछि मात्र निर्माणको प्रक्रिया अगाडि बढाउन सकिने बताए ।

उक्त टोलीले गत सोमबारदेखि  केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन गरेको थियो । रेल विभाग र चिनियाँ अधिकारीबीच शुक्रबार छलफल पनि भएको थियो ।

चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेको छ, अहिले । उक्त मार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना छ । केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजना दुवै पक्षले अगाडि सारिसकेका छन् ।

तपाइको मत