२५ असोज ०७४, काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको नवौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
बुधवारदेखि नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको नवौं महाधिवेशन काठमाडौंमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन वनमन्त्री विक्रम पाण्डेले गरेका हुन् ।
महाधिवेशनकै अवसरमा महासंघले वन व्यवस्थापन तथा उद्यम प्रवर्द्धन राष्ट्रिय पुरस्कार वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलाई ५१ हजार १ सय १ रुपैयाँ र वन पैदावार उद्धम प्रवर्द्धन पत्रकारिता पुरस्कार कान्तिपुरका वातावरण पत्रकार अब्दुल्लाह मियाँलाई २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको छ ।
यस्तै, वातवारण संरक्षण अभियन्ता हेमन्तराज काफ्ले, व्यवसायीहरु अर्जुन रानाभाट, भीमबहादुर साउद, दिनेश वाग्ले, पन्नाकाजी श्रेष्ठ, ब्रह्मदेव साह र केशव श्रेष्ठलाई पनि सम्मान गरियो । सम्मानित सबैलाई मन्त्री पाण्डेले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए ।
अध्यक्ष श्याम सुन्दर ढकालका अनुसार महाधिवेशनमा देशभरबाट तीन सय प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।













