२७ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको बताएका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता देवकोटाले यस्तो बताएका हुन् ।
“पछिल्लो पाँच दिनमा कोरोना भाइरस (कोभिड -१९) का लागि गरिएका सबै नमूना परीक्षणमा भाइरस फेला परेको छैन” उनले भने ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म २ हजार ८ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ जनाको नमूना परीक्षण गरिएको छ ।
उनले थप १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको पनि बताए । साथै, देशभर १ सय १७ जना आइसोलेसनमा रहेको र जसमध्ये काठमाडौंमा १८ जना र बाहिर ९९ जना कोरोना आशंकित व्यक्ति आइसोलेसनमा रहेको बताए ।
प्रवक्ता देवकोटाका अनुसार प्रत्येक प्रदेशमा ५ हजार थान ¥यापिड टेस्ट किट पठाइएको छ ।
देशभर १० स्थानबाट परीक्षण भइरहेको छ भन्दै प्रवक्ता देवकोटाले कैलाली र कञ्चनपुरबाट प्राप्त भएका ६६ वटा नमूनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना पुष्टि भएका संक्रमितहरु ८ जना विदेशबाट फर्किएका हुन् भने एक महिला भने विदेशबाट फर्किएका संक्रमितका परिवार सदस्य स्थानीय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।