सम्पूर्ण पत्रकारहरुलाई आरोप लगाउनु निन्दनीय कार्य हो – पत्रकार महासंघ रौतहट

१४ चैत्र ०८१, रौतहट । समाजिक सञ्जालमा पत्रकारहरुलाई सामुहिक बदनाम गराउने जो कोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।

महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही समयदेखि समाजिक सञ्जालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाई सामुहिक रूपमा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरेर तथानाम लेख्ने गरेकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएका हुन् ।

“कुनै व्यक्ति वा पात्रसँग कसैको बैचारिक मतभेद वा रिसरागलाई लिएर सिङ्गो संचारकर्मीहरुको बदनामी गर्ने काम हुनुहुदैन,” विज्ञप्तिमा भनिएको छ, “कोही कसैले व्यक्तिगत बदमासिको गरेको भए सो व्यक्तिको नाम किटान गरेर सम्बन्धित निकायमा उजुरी गर्नुको सट्टा सम्पूर्ण पत्रकारहरुलाई आरोप लगाउनु निन्दनीय कार्य हो । सामाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गर्ने, अपशब्दको प्रयोग गरि गालीगलौज गर्ने कार्य भएमा सो को विरुद्ध हामी कानूनी कारवाहीमा जान बाध्य हुनेछौं ।”

सचिव श्रेष्ठले यस किसिमका घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै सामाजिक संजालमा निगरानी बढाउन समेत अनुरोध गर्दै संचारकर्मीहरुलाई समेत कार्यक्षेत्रमा नेपाल पत्रकार महासंघले तोकेको आचार संहिताभित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न भनिएको छ ।