
१८ असोज, काठमाडौं । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले सेन्टरको केन्द्रीय समितिमा नपरेर असन्तुष्ट बनेका माओवादी केन्द्र निकट पत्रकारहरुलाई फेसबुक, ट्वीटर र अनलाइन मिडियाहरुमा नरुन आग्रह गरेका छन् ।
मंगलबार कृषि डबलीमा प्रेस सेन्टर नेपाल, सञ्चार राष्ट्रिय प्रतिष्ठानले ‘दशैं, तिहार, नेपाल सम्वत र छठको अवसरका आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै दाहालले प्रेस सेन्टर नेपालको नयाँ कार्य समितिप्रति बेखुस पत्रकारहरुलाई लक्षित गर्दै फेसबुक, ट्वीटर र अनलाइन मिडियाहरुमा नरुन आग्रह गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत सेन्टरका अध्यक्ष दाहालले आफ्नो अध्यक्ष पदको बचाउ गर्दै उमेरले महत्व नराख्ने बताए ।
‘बाह्र वर्षपछि खोलो फर्कने रहेछ, अब १२ वर्ष कुर्दा के हुन्छ ?’ भन्दै सेन्टरका अध्यक्ष दाहालले भने, ‘पुरानै मान्छे आयो भन्नु भन्दा पनि एजेण्डा के आयो ? सिद्धान्त के आयो ? भन्ने कुराले अर्थ राख्छ ।’
‘चार सय ९९ आयोजक कमिटी सदस्यहरुलाई ९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा फेसबुकमा रुनु भएन’ दाहालले भने, ‘रेडियो, अनलाइनमा रुनु भएन, हामीले पार्टीलाई बहसमा तानेका छौं, हामी नतानिए हाम्रो पार्टी ५० प्रतिशत ठीक ठाउँमा आउँछ ।’
दाहालले पत्रकार उत्पीडित वर्गका प्रवक्ता हो भन्दै श्रमजीवी पत्रकारहरुको वास्तविक संगठन प्रेस सेन्टर नेपाल रहेको समेत बताए ।
यसैगरी सेन्टरका उपाध्यक्ष बलराम थापाले गत असोज १३ र १४ गते भएको महाधिवेशनमा कस्तो घर बनाउने भन्ने छलफल हुँदै गर्दा घर बनाउने डकर्मीका रुपमा तत्कालिन क्रान्तिकारी पत्रकार महासंघका संस्थापक अध्यक्षलाई प्रेस सेन्टरको नेतृत्वको रुपमा पाएको बताए ।
उनले सञ्चार राष्ट्रिय प्रतिष्ठानका नयाँ कार्य समितिलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउँदै समानुपातिक विज्ञापन प्रणाली नीति बनाउन, साना मिडियाहरुमा संगठन बनाउन र करारमा कार्यरत पत्रकारहरुलाई स्थायी गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने शुभकामना दिए ।
सञ्चार राष्ट्रिय प्रतिष्ठानकी अध्यक्ष सुमिता लामाको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष कमल गिरि, महासचिव विष्णु सापकोटा, सचिव एस.बी.थापा मगर, राजेश चाम्लिङ्ग, रुवि श्रेष्ठ, आश्था केसी, केन्द्रीय सदस्य उद्धव कार्की, कृष्ण गिरि, देवीराम देवकोटा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।













