५ भदौ ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियन लगायतको गठबन्धनबाट गोविन्द आचार्यको उम्मेदवारी परेको छ भने प्रेस चौतारीबाट तिर्थ कोइराला र स्वतन्त्रबाट उजीर मगरले उम्मेदवारी दिएका छन् ।
यसैगरी मोहन वैद्य किरण नेतृत्वको माओवादी निकट पत्रकार संगठनबाट इन्द्रबहादुर राउत र स्वतन्त्रबाट भावना विद्रोहीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
प्रज्ञा भवन कमलादीमा सोमबार बिहानदेखि १० बजेदेखि मतदान भइरहेको छ । मतदान दिउँसो तीन बजेसम्म जारी रहने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको भए पनि मतदान कार्य अझै सकिएको छैन् ।
निर्वाचन समितिले यसपटक करिब १५०० मत खस्ने अनुमान गरेको छ ।
तीन जना प्रतिस्पर्धीहरुले सँगै मत खसाले
अध्यक्षका तीन जना प्रमुख प्रतिस्पर्धीहरुले सँगै मत खसालेका छन् ।
अध्यक्षका प्रत्यासीहरु गोविन्द आचार्य, तीर्थ कोइराला र उजिर मगरले सँगै एउटै मत पेटिकामा मत खसालेका हुन् ।
प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्र
मतदान गर्न सहज होस् भनी निर्वाचन स्थलमा अलगअलग प्रदेशका मतदाताहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।
विभिन्न जिल्लाबाट आएका पार्षदहरु मतदान गर्न अहिले पनि लाइनमा बसेका छन् ।
उम्मेदवारहरु मतदान गर्न लाइनमा बसेका मतदाताहरुसँगै लाइनमा बसेर भोट मागिरहेका छन् ।
मतदान सकिएपछि संचारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा मतगणना सुरु हुने बताइएको छ ।