४ बैशाख ०७५, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस निकट पत्रकार संगठनले बैशाख २२ गते हुने चुनावका लागि नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा भागवण्डा गरेका छन् ।
केन्द्रदेखि स्थानीय तहसम्म काँग्रेस, एमाले र माओवादी पार्टी भिड्ने गरेको भए पनि मंगलबार तिनै पार्टी निकट पत्रकार प्रदेश चुनावमा मिलेर हिँड्ने सहमति गरेका छन् ।
माओवादी निकट प्रेस सेन्टर, एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनका तीन अध्यक्षले पत्रकार महासंघ प्रदेश समितिको पदीय भागवण्डामा हस्ताक्षर गरी सँगै हिँड्न सहमत भएका हुन् ।
सेन्टरका अध्यक्ष महेश्वर दाहाल, चौतारीका अध्यक्ष गणेश बस्नेत र युनियनका अध्यक्ष बद्री सिग्देलले हस्ताक्षर गरेको सहमति पत्रमा सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेश समितिको सबै पदमा भागवण्डा गरिएको छ ।
चौतारीले ५, सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने
सहमतिअनुसार प्रेस चौतारीले ५, प्रेस सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने भएको छ ।
चौतारीले प्रदेश १, प्रदेश ३, कर्णाली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको अध्यक्ष पाउने सहमति भएको छ ।
यसैगरी प्रेस सेन्टरले प्रदेश ४, प्रदेश ५ र उपत्यकाको अध्यक्ष पाउनेछ भने प्रेस युनियनले प्रदेश २ र एसोसिएटको अध्यक्ष पद पाउने भएको छ ।
कार्यसमितिमा अर्को कार्यकारी पद महासचिवमा प्रेस सेन्टरले ४ वटा, प्रेस चौतारी र प्रेस युनियनले ३/३ वटा प्रदेश भागवण्डा गरेका छन् ।
भागवण्डा सहमतिअनुसार प्रदेश कार्य समितिका सबै पदमा भागवण्डा गरिएको छ । प्रदेश कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहने छन् ।
त्यस्तै कार्य समितिमा खुला ५, महिला ३, आदिवासी जनजाति २, मधेसी २, दलित १ र अल्पसंख्यकबाट १ जना सदस्य रहनेछन् ।
कुन संगठनले कुन प्रदेशमा कुन पद पाउने ? यस्तो छ, सहमति :


















