पत्रकार र सञ्चार गृहको सुरक्षामा राज्य सम्वेदनशील देखिएन

१९ चैत्र ०८१, सप्तरी । पेशाग संघ, संगठनका नेताहरुले पत्रकार र सञ्चार गृहको सुरक्षामा राज्य पक्ष सम्वेदनशील नदेखिएको बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित ‘पत्रकार र सञ्चार गृहको सुरक्षा राज्यको दायित्व’ विषयक अन्तरक्रियामा वक्ताहरुले यस्तो आरोप लगाएका हुन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ सप्तरीका अध्यक्ष उमेश कुमार यादवले तीनकुने घटनामा पत्रकार जलेर मृत्यु भएको घटानले आफू स्तब्ध भएको बताउँदै पत्रकार र सञ्चार गृहको सुरक्षामा राज्य चुकेको बताए ।

यादवले गणतन्त्रको पक्षमा रहेको पत्रकारमाथिको आक्रमणको घटना हुनु राज्य पक्ष र आन्दोलनरत दुबै पक्ष सम्बेदनशील नरहेको बताए ।

उनले नागरिकको पक्षमा ज्यान हत्केलामा राखेर २४सैै घन्टा सही सूचना दिन खट्ने पत्रकार र सञ्चार गृहको सुरक्षा राज्य पक्षले जिम्मेवार भएर भस्मिका खेल्नुपर्नेमा जोड दिए ।

यस्तै मानव अधिकारकर्मी मनोहर पोखरेलले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुनै नसक्ने ठोकुवा गरे ।

उनले लोकतन्त्रको आधार स्तम्भ लोकतन्त्र रहेको बताउँदै अन्त्येष्टि भइसकेको निरंकुश राजतन्त्रको सपना कसैले देख्न नहुने जिकिर गरे ।

कार्यक्रममा सप्तरी जिल्ला बार एशोसिएसनका सचिब रामएकवाल मण्डल, पूर्वसभापतिद्वय मुरली प्रसाद यादव, वैद्यनाथ झा, नेपाल प्रेस यूनियनका अध्यक्ष विनयलाल कर्ण, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामनारायण विश्वास, प्रेस मञ्च नेपालका अध्यक्ष भूषण कुमार सिंह लगायतले पत्रकार रजकको हत्यारालाई कारबाही तथा संचार गृहमा एवम संचार उपकरणमाथिको क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइते पत्रकारहरुको उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका थिए ।

काठमाडौंमा गत फगुन १५ गते एभिन्यूज टेलिभिजनकर्मी रजक राजावादीहरुको आन्दोलनमा समाचार संकलनको क्रममा घरमा थुनिएर आगो लागेर मृत्यु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा भएको थियो ।