ललितपुर । नेत्रबिक्रम चन्द ‘विप्लव’ माओवादीको मजदुर सङ्गठनका जोगमान लामा, खेसाङ लगायतका टीम बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा प्रवेश गरेसँगै अनु शर्माले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, ललितपुरको जिम्मेवारी पाएका छन् ।
विप्लव माओवादीको जनवर्गीय संगठनको भेला र सम्मेलनहरुमा विवाद देखिएपछि विप्लव हेडक्वार्टरले त्यसलाई सुल्झाउन केन्द्रियता लादेको थियो । योगेन्द्र कुमाल र जोगमान लामा बिचको चर्काे विवादपछि विप्लव हेड्क्वार्टरले मजदुर संगठनको अध्यक्षमा मजदुर आन्दोलनमा इमान्दारिताका साथ लागिरहेको र प्रतिबद्ध रहेको भन्दै योगेन्द्र कुमाललाई नै संगठनको जिम्मेवारी दिएपछि जोगमान लामाले पार्टी निर्णयप्रति असन्तुष्टि जनाएको थियो ।
भेला र सम्मेलनताका विप्लब माओवादीको मजदुर, विद्यार्थी, दलित, युवा र पत्रकार लगायत जनवर्गीय संगठनहरुमा चर्काे विवाद थियो । जनवर्गीय संगठनहरुमा विवाद देखिएपछि पार्टी निर्णय नमान्नेहरुलाई हेडक्वाटरले कारवाही गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा एक पोलिटब्युरो सदस्यले हाकाहाकीलाई बताए साथै उनले कसैले पदका लागि पार्टीमा अराजक गतिविधि र मनपरी गर्न खोजे त्यसलाई पद पाइने ठाउँमा जाने बाटो खुल्ला रहेको बताए ।