२१ बैशाख ०७४, काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महत बुधबार सिंगापुर प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री महत थाइल्याण्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासले नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी बिहीबार सिंगापुरमा आयोजना गरिएको सम्मेलनमा सहभागी हुन गएका हुन् ।
मन्त्री डा.महतले सिंगापुरमा रहँदा सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिंगापुरका विदेश मामिला एवम् मानव संशाधनसम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
परराष्ट्र मन्त्री डा.महत शुक्रबार सिंगापुरबाट भारत प्रस्थान गर्नेछन् । नयाँदिल्लीमा शुक्रबार आयोजना गरिएको नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनलाई उनले सम्बोधन गर्ने छन् ।
दुईदिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा.महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदाश बैरागीसहित नेपाल र भारतका विज्ञहरुको प्रस्तुति रहनेछ ।